सिद्धार्थ टाईम्स संवाददाता । कपिलवस्तु
गाउंमै स्वरोजगारको अवस्था सृजना गर्न मायादेवी गाउंपालिका वडा नं. ३ सेमरौटीका ४ युवतीहरुले सिलाई कटाई सेन्टर शुरु गरेका छन् । स्थानीय सोनिया यादव, किरण खरविन्द, सावित्रि लोहार र रुक्मणी खरविन्द गरी ४ युवतीहरुले वडाको वड्की खैराटीमा सिलाई कटाई सेन्टर खोलेर नयां कपडा सिलाई सेवा शुरु गरेका हुन् । विस्तारै गाउं घरका महिलाहरु यो सिलाई सेन्टरमा आफ्ना नयां लुगा कपडा सिलाउन आउन थालेका छन् ।

कक्षा १२ पढेर वसेकी सोनिया यादव कतै रोजगारीको अवसर नपाए पछि साथीहरुसंग मिलेर आफै स्वरोजगार वन्ने प्रयास शुरु गरेको बताउंछिन् । यसबाट घरमै बसेर मासिक ८।१० हजार कमाउन शुरु गरेको सोनियाले बताईन् । उनीहरुले यहांबाट महिलाका कपडाहरु ब्लाउज, पेटीकोट, म्याक्सी, फ्रक, सुरवाल, कुर्ता, स्कट सिलाउने गरेका छन् ।

विएमजेडको आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालको संयुक्त साझेदारीमा संचालित सुधारीएको खाद्य प्रणाली परियोजनाबाट संचालन गरेको ३ सय ९० घण्टे अर्थात ६५ दिने सिलाई कटाई तालिम लिए पछि यी ४ जना युवतीहरु स्वरोजगार तर्फ लागेका हुन् । तालिममा सहभागी २० जना युवतीहरुलाई ५० हजार रुपैया बराबरको सिलाई मेशिन र आवश्यक सामाग्रीहरु वितरण गरिएको थियो ।

सो तालिमबाट यी ४ युवतीहरुले प्राप्त गरेका सामाग्रीहरु जम्मा गरी यो सिलाई कटाई सेन्टर शुरु गरेका हुन् ।