सिद्धार्थ टाईम्स संवाददाता
कपिलवस्तु । समुदायमा अल्पसंख्यक रुपमा रहेका नेटुवाहरुको हक हित अधिकार संरक्षण र संस्थागत विकासका लागि नेटुवा विकास केन्द्रको स्थापना गरिएको छ ।
मायादेवी गाउँपालिका वडा न २ अभिरावमा नेटुवा बिकास केन्द्र नामक संस्था स्थापना गरी विक्रम सम्वत् २०८० सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गएिको छ । नेटुवा लगायत सामाजिक रुपमा पछाडी पारिएको बर्ग, समुदाय र समुहको क्षमता अभिवृद्धि मार्फत शोषण रहित समाजको सृजना गर्ने र नेटुवा, महिला, बालबालिका, युवा, दलित, मधेशी, मुस्लिम, वालश्रमिक बर्गहरुको जनचेतना तथा आयआर्जन मार्फत आर्थिक सामाजिक सशक्तिकरण गर्दै समुन्नत समाज निर्माण गर्ने उद्धेश्यले यो संस्थाको स्थापना गरिएको हो ।
बि.एम.जेड÷डब्लु.एच.एच को आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालको आयोजनामा सञ्चालित सुधारिएको खाद्य प्रणाली परियोजनाको सहयोग नेटुवा बिकास केन्द्रको स्थापना गरिएको हो । अल्पसंख्यक र लोपोन्मुख जातिको रुपमा यहांका नेटुवा जातिहरु भए पनि राज्यको सुचीमा भने यो जाति लोपोन्मुख जातिको रुपमा सुचीकृत हुन सकेको छैन ।

घुमफिर गर्ने, मगन्ते जातिको रुपमा रहेको यो जातिको संख्या कपिलवस्तु जिल्लामा करीब ८ सयको हाराहारीमा छन् । विषालु सर्प समात्ने, मह काढ्ने यो जातिको परम्परागत पेशा हो । शिक्षा र स्वास्थ्यको हिसाबले यो जाति निकै पछि परेको छ । हरेक ढंगबाट समुदायमा पछि परेको हुदा संगठित भई अघि बढ्ने उद्देश्यले नेटुवा विकास केन्द्र स्थापना गरी सामुहिक हक हित र अघिकारका लागि आफुहरु संगठित हुदै गरेको नेटुवा विकास केन्द्रका अध्यक्ष नियतराम नेटुवाले बताए ।

सुधारिएको खाद्य प्रणाली परियोजनाले यहांका नेटुवा समुदायलाई संगठित गरि जिविकोपार्जनका लागि विभिन्न सीपमूलक तालिमहरु प्रदान गरेको छ । विषालु सर्प समात्ने तालिम, वैण्ड बाजा बजाउने तालिम र सामुहिक रुपमा वैण्डवाजाका सामाग्रीहरु समेत उनीहरुलाई हस्तान्तरण गरी जिविकोपार्जनका लागि सहयोग हुदै आएको छ ।