सिद्धार्थ टाईन्स संवाददाता । लवनी (कपिलवस्तु)
अघिल्ला वर्षहरुमा अर्काको घर खेतमा गई मजदुरी गरी परिवार पाल्नु पर्ने दुर्गा प्रसाद पासीको दैनिकी आजभोलि फेरिएको छ । शुद्धोधन गाउंपालिका वडा नं. २ मेहनियाका भूमिहिन दुर्गा प्रसाद अहिले मोटरसाईकल मिस्त्री बनेर स्वरोजगार बनेका छन् । लवनी नन्दनगर सडक खण्डको मेहनिया सडक किनारमा ८ नं. पर्ती ऐलानी जग्गामा उनी बस्दै आएका छन् ।
जग्गा जमिनको नाममा आफु र आफ्नो परिवारको नाममा उनको कुनै पनि जग्गा तथा सम्पत्ति छैन । गाउं घरमै मेहनत मजदुरी गरेर दुख कष्ट साथ कमाएको पैसाले दैनिक २ छाक टार्न समेत उनीलाई धौ धौ थियो । तर अहिले दुर्गा प्रसाद मोटरसाईकल मिस्त्री बनेर आफ्नै सानो पसलबाट सजिलै परिवार पाल्न थालेका छन् ।
विएमजेडको आर्थिक सहयोग कालिका स्वावलम्बन सामाजिक केन्द्र र फरवार्ड नेपालको संयुक्त साझेदारीमा संचालित सुधारीएको खाद्य प्रणाली परियोजनाबाट संचालन गरेको ४५ दिने मोटर साईकल मर्मत तालिम दुर्गाले पाए पछि उनको जीवनमा सकारात्मक परिवर्तनहरु देखा पर्न थालेका हुन् ।
अघिल्ला वर्षहरु सम्म गाउं घरमै अरुको घरमा मेहनत मजदुरी गर्नु पर्ने उनको वाध्यता अहिले हटेको छ । सडक किनारमै सरकारी जमिनमा बनाएका टहरो संगै उनले खोलेको मोटरसाईकल मर्मत पसलबाट उनी दैनिक ६ सय देखि १ हजार रुपैया सम्म कमाउने गरेका छन् । मोटरसाईकल मर्मतको काम भएका कारण आफ्नो श्रमको ज्याला लिंदा दिन भरी विक्री भएको रकममा उनको राम्रै फाईदा वस्ने गरेको दुर्गाले बताए ।
मोटर साईकल मर्मत तालिमले मेरो जीवनलाई पुरै मोडिदियो, दुर्गा प्रसादले भने, “अब कम मेहनतमै राम्रै कमाई हुन थालेको छ । अब आफ्नो हातमा सीप र साधन भए पछि जीवन सहज भएको छ ।”
परियोजनाबाट तालिम संगै अन्य सहभागीहरुले जस्तै दुर्गाले ६० हजार रुपैया बराबरको हावा भर्ने प्रेशर मेशिन, धुलाई मेशिन, टुल किट लगायत मोटरसाईकल मर्मतमा आवश्यक पर्ने सामाग्रीहरु पाएका थिए । परियोजनाबाट पाएको सामाग्रीबाट उनले शुरु गरेको मोटर साईकल मर्मत पसल अहिले उनको लागि स्वरोजगारको राम्रो साधन बनेको छ । यसैबाट उनले आफ्नो श्रीमती र २ सन्तान सहितको ४ जना परिवार सजिलै संग पालेका छन् । पसलबाट समय पाउंदा ८ नं. पर्तीमा रहेको तरकारी बारीमा काम पनि गर्छु, जसबाट घरमा खानको लागि तरकारी उत्पादन गर्ने गरेको छु, दुर्गा प्रसादले भने ।